
मंगला, कत्तिक-२२, म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न माध्यमिक विद्यालय बरंजाले हात पारेको छ।
मङ्गला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
त्यस्तै, मङ्गला मावि बाबियाचौरले ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जितेर द्वितीय स्थानमा रहँदा, शिशु कल्याण माविले ५ स्वर्ण, २ रजत र ५ कास्यसहित तृतीय स्थान प्राप्त गरेको मङ्गला गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो।
प्रतियोगितामा डनिङ आवासीय मावि चौथो स्थानमा रह्यो। मार्चपासतर्फ मङ्गला माध्यमिक विद्यालय प्रथम घोषित भएको छ।
एथलेटिक्सतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमा महेन्द्ररत्न माविका विवेक नेपाली र शिशु कल्याण माविकी थमसरा रोकाले समान ३–३ स्वर्ण पदक जितेका छन्।
त्यस्तै, छात्र भलिबलतर्फ शिशु कल्याण माविका हेमन्त बुढाथोकी, छात्रा भलिबलतर्फ मङ्गला माविकी एन्जिला किसान, कबड्डीतर्फ छात्रामा मङ्गला माविकी बिना सापकोटा र छात्रतर्फ महेन्द्ररत्न माविका बिकल बुढा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
विजेता विद्यालयलाई ५० हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस्तै, द्वितीय र तृतीय विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मङ्गला गाउँपालिकाका नौ वटा विद्यालयको सहभागिता रहेको थियो।
छात्र र छात्रा तर्फका भलिबल, कबड्डी र एथलेटिक्स खेलहरूमा गरी जम्मा ३० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो।
समापन समारोहमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष दिलकुमारी खत्री, वडा नं २ का अध्यक्ष धनबहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत मदन अर्याललगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )