

जलजला,कात्तिक-१२, पर्वत जिल्लामा सोमबारको हावा र मंगलबारको वर्षाले धान खेती प्रभावित पारेको छ। धान भित्र्याउने तयारीमा रहेका कृषकहरू अहिले चिन्तित बनेका छन्।
जिल्लाका अधिकांश क्षेत्रमा धान बाली पाक्ने अवस्थामा पुगेको छ। कतिपयले तिहारपछि काट्ने योजना बनाए पनि आकस्मिक हावा र वर्षाले खेतका बालीमा असर पुर्याएको छ। फलेवास नगरपालिका–४ मुडिकुवाका किसान रघुनाथ गौडेल भन्छन् “हाइब्रिड जातका धान खासै ढलेका छैनन्, तर स्थानीय जातका धान भने खेतमै लडेका छन्।”
उनका अनुसार सातबीसे, बाह्रबिसे, नौबिसे र सेरा क्षेत्रका फाँटमा लामो पराल भएका जातहरू बढी प्रभावित भएका छन्। गौडेलले थपे “ढलेको धान कुहिने, बाला झर्ने र परालसमेत काम नलाग्ने अवस्था आएको छ।”
कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार, हावाले ढलाएका धानका सूचना बढी आएका छन्। उनी भन्छिन्
“हाइब्रिड धानमा क्षति कम छ, तर स्थानीय जातका र अग्लो पराल भएका धानमा बढी असर पुगेको छ।” उनका अनुसार नकाटेर खेतमै ठाडो रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि, पूर्ण रूपमा पाकिसकेका धान झर्ने सम्भावना रहेको छ। सुवेदीले किसानहरूलाई सुझाव दिएकी छन् “मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै धान काट्ने र अन्य बाली भित्र्याउने तयारी गर्नुपर्छ।”
गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा हाल निरन्तर हावा र हल्का वर्षा भइरहेकाले धान भित्र्याउने कार्य केही दिन ढिलो हुने देखिएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )