

बेनी, कात्तिक-११, म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। कुल ५७ लाख १० हजार ८६० रुपैयाँ लागतमा तयार भएको सो झोलुङ्गे पुलबाट १ सय ९३ घरधुरीका करिब ९ सय ६५ जनाले प्रत्यक्ष लाभ पाउने भएका छन्।
पुलको उद्घाटन निर्वतमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सोमबार एक विशेष समारोहका बीच गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै गर्बुजाले स्थानीयको सुविधा र आवतजावत सहज बनाउन बरंजा क्षेत्र जोड्ने लामो झोलुङ्गे पुल र सडक सञ्जाल विस्तारका लागि स्रोत जुटाउने कार्य निरन्तर भइरहेको बताउनुभयो।
उहाँले मन्त्रीपरिषद्मा छोटो समय रहे पनि देखिने गरी बजेट ल्याएको र बाँकी योजनाहरूलाई पनि प्रदेश सरकारमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले सिमित स्रोतका बीच पनि गाउँपालिकाले सडक, खानेपानी र पुललगायतका योजनामा लागत साझेदारी र समुदायको सहभागिताबाट काम अघि बढाएको बताउनुभयो।
वडा अध्यक्ष लालबहादुर रोकाका अनुसार, बर्खाको समयमा जिर्ण पुलका कारण आवतजावतमा समस्या हुने गरेकोमा ९२ दशमलव ५ मिटर लामो नयाँ झोलुङ्गे पुल बनेपछि बालबालिका, वृद्धबृद्धा र स्थानीय कृषकहरूलाई निकै सहज भएको छ।
पुल निर्माणमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (SWAp) को आर्थिक तथा सामाग्रीक सहयोग, मंगला गाउँपालिकाको लागत साझेदारी र स्थानीयबासीको श्रमदान रहेको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले जानकारी दिनुभयो।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, मिलन म्याग्दीकी निर्वतमान अध्यक्ष दिलमायाँ विटालु, तथा अन्य वक्ताहरूले समुदायस्तरको योगदानको प्रशंसा गरेका थिए।
पुल निर्माणपछि मंगला गाउँपालिका–४ का बासिन्दासँगै बागलुङको ताराखोला गाउँपालिका र बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयहरू पनि लाभान्वित भएका छन्।
कार्यक्रममा पञ्चेबाजा र सांस्कृतिक प्रस्तुति सहित स्थानीयहरूले अतिथिहरूलाई स्वागत गरेका थिए।
समारोहको अध्यक्षता उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले, स्वागत चक्रबहादुर रोकाले र सञ्चालन योगेन्द्रमान शेरचनले गर्नुभएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )