बेनी, असोज-२४, म्याग्दीमा बिहीबार विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइएको छ। जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा अन्तर–कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता साथै उत्कृष्ट कर्मचारी र सञ्चारकर्मीलाई सम्मान गरिएको हो।
कार्यक्रमका क्रममा म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जका स्टेशन म्यानेजर राकेश शर्मालाई हुलाक सेवाको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, लामो समय सेवा प्रदान गरेका हल्कारा किशोर तिलिजा, नरमान छन्त्याल, डिलबहादुर पुन र कार्यालय सहयोगी चबहादुर चोचाङ्गीलाई पनि पुरस्कृत गरिएको छ।
उत्कृष्ट कर्मचारीतर्फ खरिदार मिनबहादुर बरुवाल र ताराप्रसाद छन्त्यालले पुरस्कार पाएका छन्। अन्य हल्कारा र सहयोगीहरूलाई पनि सम्मान गरिएको हो। पुरस्कार प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, हुलाक कार्यालय प्रमुख रमेश थापा र पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतमले प्रदान गर्नुभएको थियो।
प्रजिअ तिवारीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै, जिल्ला हुलाक कार्यालयद्वारा निर्माण हुने आईसीटी पार्कमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
यस अवसरमा आयोजित प्रतियोगितामा हाजिरीजवाफतर्फ रघुगंगा गाउँपालिकाको टोली प्रथम र वक्तृत्वकलामा सिर्जना खड्का प्रथम घोषित हुनुभयो।
कार्यक्रमको सञ्चालन खरिदार मिनबहादुर बरुवालले गर्नुभएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )