म्याग्दी, असोज-१२, विश्वको सातौं अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) को चुचुरोसम्म पुग्ने बाटो यस शरदयाममा खुला भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धवलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले जानकारी दिनुहुँदै, आधार शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ अर्थात् डोरी तानेर बाटो बनाइएको बताउनुभएको छ।
संखुवासभाका टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको संयुक्त टोलीले मार्ग खोलेको हो। उनीहरू नै चालु शरदयाममा धवलागिरि हिमालको सफल आरोहण गर्ने पहिलो टोली बनेका छन्।
पर्यटन विभागका अनुसार यस सिजन धवलागिरि आरोहणका लागि सात महिला र १७ पुरुष गरी २४ जनाले अनुमति लिएका छन्। जसबाट करिब ५० लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यसअघि गत वसन्तयाममा १५ जनाले अनुमति लिएका थिए भने अघिल्लो वर्ष रसियाका पाँच पर्वतारोही हिमपहिरोमा परी ज्यान गुमाएका थिए।
धवलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण र चुनौतीपूर्ण मानिन्छ। छिनछिनमै मौसम परिवर्तन हुने भएकाले यो आरोहण साहसिक हुने गरेको छ।
स्मरणीय छ, सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरसहित छ जनाले पहिलो पटक धवलागिरिको चुचुरोमा पाइला टेक्न सफल भएका थिए।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )