देविजिसी/बेनिकत्तिक-२३, नेपालमा हुलाक सेवालाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो, प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बक्ताहरूले जोड दिएका छन् ।
हुलाक सेवा विभागले स्थानीय तहसँगको सहकार्यमा आयोजना गरेको सो कार्यक्रममा, सिमित स्रोतसाधन र जनशक्तिका कारण सेवा प्रवाहमा चुनौती भोग्दै आएको हुलाकलाई आधुनिक प्रविधिसँग जोडेर सेवा विस्तार गर्नुपर्ने सुझावहरू आएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीले हुलाक सेवाको महत्व अझै बढाउन स्रोतसाधन र दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनुभयो । उहाँले हालको जनशक्तीसँग आम नागरिकको पहुँचसम्म हुलाक सेवा पु¥याउन कठिन भएको समेत उल्लेख गर्नुभयो ।
त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराइले हुलाक सूचना र सञ्चारको भरपर्दो माध्यम भएको बताउँदै यसलाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार विभागले स्मार्ट हुलाक सेवाको विस्तार र प्रविधिमैत्री रूपान्तरणका लागि विशेष योजना अघि सार्दैछ ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पनि आ–आफ्ना धारणा राख्नुभयो । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र हुलाकको सूचना प्रविधि कक्ष स्थापना तथा सेवाको आधुनिकीकरणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सोही अवसरमा जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले “स्मार्ट हुलाक निर्माणको लक्ष्य” घोषणापत्र सार्वजनिक गर्दै म्याग्दीलाई नमुना जिल्लाको रूपमा प्रस्तुत गर्ने योजना साझा गर्नुभयो । उहाँले इ–कमर्स प्रणालीमार्फत चिठीपत्र मात्र होइन, खाद्यान्न, लत्ताकपडा, मोबाइल, औषधि जस्ता सामान पठाउने सेवा पनि विस्तार भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विभागका निर्देशक लिलाराम पौडेल, शाखा अधिकृत शालिकराम बस्याल र महानिर्देशक भट्टराइले क्रमशः हुलाक सेवाको परिचय, वर्तमान स्वरूप र भविष्यमुखी दृष्टिकोणबारे प्रस्तुती दिनुभएको थियो ।
हाल म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक कार्यालय, २९ वटा अतिरिक्त हुलाक, एक जना हुलाकी र २६ जना हल्कारा कार्यरत छन् ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )