
म्याग्दी, कात्तिक -२३,‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजनामा र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा वडा नं. ७ ताकममा सुरु भएको प्रतियोगितामा पालिकाभित्रका १२ विद्यालयको सहभागिता रहेको छ।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सञ्चालन भएको प्रतियोगितामा फिल्ड र ट्रयाक गरी दुई विधामा प्रतिस्पर्धा हुँदैछ। १ सयदेखि ३ हजार मिटर दौड, रिले दौड, हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट र छात्र–छात्रा भलिबलका प्रतियोगिता हुनेछन्।
उद्घाटन अघि सम्पन्न मार्चपासमा धनजनता माध्यमिक विद्यालय फलियागाउँ, मुना प्रथम भई नगद १० हजार रुपैयाँसहित सम्मानित भएको छ। उद्घाटन खेलका रूपमा १५ सय मिटर दौड सम्पन्न गरिएको छ।

प्रतियोगिता मङ्गलवारसम्म सञ्चालन हुनेछ। प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र ६० हजार रुपैयाँ, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँसहित पुरस्कार पाउनेछन्।
उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले खेलकुदले जात, धर्म र राजनीतिभन्दा माथि उठेर सहकार्य र एकताको भावना विकास गर्ने बताउनुभयो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले नयाँ खेलाडी उत्पादन र प्रतिभा पहिचानका लागि नियमित कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुदमैत्री वातावरण निर्माणमा यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्। कार्यक्रम ७ नम्बर वडा अध्यक्ष अशोक खत्रीको स्वागत र शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको हो।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )