कृष्ण जिसी / जलजला अनलाइन – झमझम पानी पर्ने, कुहिरोले ढाकिएको अनि कहिलेकाहीँ खुला आकाशमुनि झिलिमिली देखिने साउने सङ्क्रान्तिको रात बाल्यकालमा बेग्लै अनुभूति दिन्थ्यो। त्यो झिलिमिली कुनै विद्युतीय बत्तीबाट होइन, घरघरको आँगनमा दन्काइएको आगोको ज्वालाबाट झिलिमिली हुन्थ्यो । सिट्ठी बजाउने, थाल बजाउने, गाली गर्ने, चिच्याउने, अगुल्टो फ्याँक्ने, अनि आगोको छेउमा बसेर चाम्रे भात वा कतै बाख्राको मासु खानु साउने सङ्क्रान्तिको मौलिक स्वाद थियो।
साउने सङ्क्रान्ति, जुन विक्रम सम्वतको पात्रोअनुसार साउन महिनाको पहिलो दिन पर्छ, हिन्दू धर्ममा ‘कर्कट सङ्क्रान्ति’ को रूपमा चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ। धार्मिक, सामाजिक र चिकित्सकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने यो दिन विशेष गरी लुतो फाल्ने परम्परा अभ्यास गरिन्छ। संस्कृतमा यस पर्वलाई ‘लुत निक्षेपण’ अर्थात् लुतो फाल्ने पर्व भनिन्छ।
साउने सङ्क्रान्तिमा लुतो फाल्ने परम्पराको मूल जड छाला सम्बन्धि रोग उपचारसँग जोडिएको छ। असार महिनाभर खेतबारीमा हिलो छ्याप्दै काम गर्ने किसानहरूमा देखिने हिलो जन्य खटिरा, एलर्जी, र छालाका रोगहरूबाट मुक्त हुन यो परम्परा सुरु भएको मानिन्छ।
यस दिन दिउँसो जंगलबाट विभिन्न औषधीय गुणयुक्त वनस्पति भलायोको पात, कुकुरडाइनोको लहरो, पटपटे, स्याल धोति, मकर घांची, घिउ घांची, बन मकै, कुरिलो जस्ता औषधीय गुण भएका बनास्पतिहरु संकलन गरिन्छ ।
साँझ परेपछि घरघरमा कन्दारकको पूजा गरिन्छ। कन्दारकलाई “लुते देउता” को रूपमा पूजा गर्ने चलन छ। पूजा गर्दा दिने भरे खोजेका बन्स्पतिहरु प्रयोग गरिन्छ। पूजा सम्पन्न भएपछि लुतो फाल्ने विधि सुरु हुन्छ।
कुरिलोको डाँठबाट पाँचदेखि सातवटा मुठा बनाइन्छ। मुठा जलाएर अगुल्टो तयार गरिन्छ अनि दियालो बालेर घरको आँगन वा बाख्रीगोठमा लुतो हटाउने प्रतीक स्वरूप बलेको अगुल्टो फालिन्छ। थाली ठटाइन्छ, ढिकी कुटिन्छ, शंख फुकिन्छ। एउटाले अर्को गाउँको नाम लिएर “लुतो लैजा है” भन्दै अगुल्टो फाल्छ। अर्को गाउँले पनि त्यसैगरी प्रत्युत्तर स्वरूप अगुल्टो फर्काउँछ। हाम्रो भेकमा काली वार पार एक गाउँले अर्को गाउँलाई गाली गर्दै लुतो लैजा भन्दै अगुल्टो फाल्ने चलन छ । यसरी लुतो फाल्ने परम्परा समुदायबीच हासो, रमाइलो र धार्मिक चेतनाको संगम बनाउँछ।
आज आधुनिकताको प्रवाहमा पुराना चलनहरू लोप हुँदै गएका छन्, तर यस्ता मौलिक संस्कार हाम्रो पहिचानको आधार हुन्। साउने सङ्क्रान्तिको दिन मनाइने लुतो फाल्ने प्रथा केवल परम्परा नभएर स्वास्थ्य, संस्कृति र सामूहिक एकता झल्काउने अभ्यास हो। विज्ञान, परम्परा र जनविश्वासको समिश्रण भएकाले यसको संरक्षण र अभ्यास आवश्यक छ। हाम्रा पुर्खाहरूले शुरु गरेको यो सांस्कृतिक अभ्यासलाई सम्मान गरौं र सन्तानलाई पनि यसको अर्थ बुझाइदिऔं।
साउने सङ्क्रान्तिको शुभकामना!
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )