

मालिका, मङ्सिर-१६, म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ आजदेखि तीन विधामा प्रतिस्पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ धमाकेदार तरिकाले शुरु भएको छ। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा पालिकाभित्रका १० वटा विद्यालयको सहभागिता रहेको छ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डी गरी ३० स्वर्ण पदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा हुँदैछ।

एथ्लेटिक्सअन्तर्गत १ सयदेखि ३ हजार मिटरसम्मका दौड, रिले, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुटलगायतका स्पर्धा सञ्चालन भएका छन्। औपचारिक उद्घाटनअघि भएको मार्चपासमा जनप्रिय माध्यमिक विद्यालय दरबाङ प्रथम, भीम मावि देवीस्थान द्वितीय र केबि एकेडेमी दरबाङ तृतीय बनेका छन्।
१५ सय मिटर छात्र दौडतर्फ जनप्रिय माविका निलबहादुर किसान प्रथम, गौवमबस्त माविका रुपेश सुनार द्वितीय र राष्ट्रिय मावि रुमका नगेन्द्र घर्ती तृतीय भएका छन्। छात्रातर्फ किसानी मावि विमकी हिमा जुग्जाली, जनप्रिय माविकी विविका भण्डारी र भीम माविकी श्रीया पुन क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका छन्। हाईजम्पतर्फ छात्रमा केबि एकेडेमीका दिपेश रोका र छात्रामा किसानी माविकी बन्दना घर्ती उत्कृष्ट घोषित भएका छन्।
प्रतियोगितामा उत्कृष्ट विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार पाउने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताले खेल भावना, अनुशासन र व्यक्तिगत विकासलाई बलियो बनाउने टिप्पणी गर्नुभयो।
समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म अघि बढ्ने महत्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्नुभयो।
कार्यक्रम शिक्षा शाखा प्रमुख अशोक रिजालको स्वागत, जनप्रिय माविका प्रअ दिवाकर सुवेदीको सञ्चालन, उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको विशेष उपस्थितिसहित सम्पन्न भएको थियो। विभिन्न विद्यालयका विद्यार्थीले मनमोहक स्वागत नृत्य प्रस्तुत गरेका थिए।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )