
म्याग्दी, मंगसिर-९, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मंगला गाउँपालिका–५, अर्मनस्थित चाङ्गामा आज घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। म्याग्दीका ऐतिहासिक, धार्मिक तथा भर्जिन पर्यटकीय क्षेत्रको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

महासंघले हरेक महिनामा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर घुम्ती वैठक सञ्चालन गर्ने र ती ठाउँहरूको प्रचारप्रसारमार्फत पर्यटन विकासमा योगदान पुर्याउने अभियानलाई निरन्तरता दिइरहेको छ। कार्यक्रममा पत्रकारसहित स्थानीय सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले चाङ्गा क्षेत्र म्याग्दीको भर्जिन पर्यटकीय गन्तव्यका रूपमा पहिचान हुँदै गएको बताउँदै आवश्यक पूर्वाधार निर्माणका काममा गाउँपालिकाले सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले चाङ्गाको सम्भावनालाई अझ प्रभावकारी रूपमा अघि बढाउन प्रचारप्रसार महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारको मुख्य भूमिकामध्ये सम्भावित क्षेत्रहरूको पहिचान र प्रचारप्रसार महत्वपूर्ण रहने बताउँदै चाङ्गा क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।
महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पर्यटन प्रवद्र्धन कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइने बताउनुभयो। कार्यक्रमलाई सराहना गर्दै स्थानीय जनप्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित संस्थाले यसले म्याग्दीका ओझेलमा परेका गन्तव्य पहिचानमा टेवा पु¥याएको प्रतिक्रिया दिएका छन्।

पर्यटन प्रवद्र्धन कार्यक्रमका संयोजक समेत रहेका उपाध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, सचिव ठाकुरप्रसाद आचार्यको स्वागत र सदस्य राकेश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लब तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
यसै अवसरमा चाङ्गाको विकास र प्रवद्र्धनका लागि सातबुँदे चाङ्गा घोषणापत्र–२०८२ जारी गरिएको छ। घोषणापत्रमा प्राकृतिक तथा ग्रामीण पर्यटन विकास, पर्यटकीय मार्ग निर्माण, सामुदायिक पर्यटन पूर्वाधार, कृषि–पशुपालनको व्यावसायीकरण, गुराँस महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन, पदमार्ग स्तरोन्नति तथा कार्यक्रम सफल पार्ने सबैप्रति धन्यवादजस्ता सात बुँदा समावेश छन्।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )