

बेनी, मंगसिर-१६, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार बेनी नगरपालिका–५ पुलाचौरस्थित सेताढुङ्गामा सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजनामा महिलामा देखिने प्रजनन सम्बन्धी समस्या परीक्षण, उपचार तथा व्यवस्थापनका उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत कुल १८५ जना महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। तिनमध्ये १६९ जनामा भिआईए (पाठेघरको मुखको क्यान्सर) परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये एक जनामा पोजिटिभ, दुई जनामा क्यान्सरको शङ्का, चार जनामा आङ खस्ने समस्या, र छ जनामा पाठेघरको मुखमा मासु पलाउने समस्या पाइएको बेनी नगरपालिकाका हेल्थ असिस्टेन्ट खगराज निउरेले जानकारी दिनुभयो। पोजिटिभ र शङ्कास्पद तीन जनालाई थप उपचारका लागि माथिल्लो अस्पताल रिफर गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमा छन्त्यालले नेपालमा महिलाहरु लाज, हिच्किचाहट र स्वास्थ्य चेतनाको अभावका कारण समयमै उपचार नपाउँदा पाठेघरको मुखको क्यान्सर बढ्दै गएको बताउनुभयो। उहाँले नियमित परीक्षण गरे क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न सकिनेमा जोड दिनुभयो।
त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पाठेघर र स्तन क्यान्सर महिलामाझ प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिएको बताउँदै यस्ता शिविरले ग्रामीण भेगका महिलालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाँले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनुभयो। बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले महिलाहरुले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या खुलेर राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
वडाध्यक्ष बानियाँको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा सञ्चालन जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले गर्नुभएको थियो। सेवा लिन बेनी नगरपालिका–४, ५ र ६ का महिलाहरु सहभागी भएका थिए।
शिविरमा डा. हेमा छन्त्याल, डा. सतिसकुमार सिंह, तथा स्वास्थ्यकर्मी मिलन गौतम, सुमित्रा थजाली, डेकमाया केसी, अमृता सुनार, करुणा थापा र अस्मिता क्षत्रीले उपचार तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )