
मंगला, मङ्सिर-१२, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा नेपाल पत्रकार महासंघ म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले पहिलो चौमासिकमा सम्पन्न विकास–निर्माण, सेवा प्रवाह तथा आगामी योजनाबारे प्रस्तुति दिँदै पालिकाका पाँचै वडाबाट संकलित नागरिकका गुनासा, जिज्ञासा र सुझावहरूको भिडियो तथा एक्जिट पोल नतिजा सार्वजनिक गर्नुभयो।
सार्वजनिक सुनुवाइमा स्वास्थ्यकर्मी घरमै सेवा दिनुपर्ने, टिम्मुर खेती प्रवर्द्धन, आमा समूहको भवन जिर्णता, राजश्व एकीकृत व्यवस्थापन, विद्यालयमा कम्प्युटर शिक्षक, सडक मर्मतसम्भार, खेलमैदान अभाव, अनुदान वितरणमा पारदर्शिता, कर्मचारी अभाव, बाढीपीडित क्षतिपूर्ति लगायतका विषयमा नागरिकले प्रश्न–गुनासा राखेका थिए।
उठाइएका जिज्ञासाको जवाफ देँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जनअपेक्षा अनुसार विकास निर्माण, सिपमूलक कार्यक्रम र सेवा प्रवाहमा पालिका सक्रिय रहेको बताउनुभयो। उहाँले प्रशासनिक भवन निर्माणका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नयाँ ढंगले सञ्चालन गरिएको सार्वजनिक सुनुवाइलाई निरन्तरता दिँदै उठेका विषय क्रमशः सम्बोधन गरिने आश्वासन दिनुभयो। कार्यक्रमको सहजीकरण पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले गर्नुभएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )