पोखरा, साउन-१२, कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले बताउनुभएको छ ।
एक समूहमा महिला र पुरुष एक÷एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताउनुभयो । “प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ”, उहाँले भन्नुभयो ।
नेपाली लोकबाजाको संरक्षण, सम्बर्धनगर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिनेछ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।
शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र…, सुखी ज्यानलाई गुँदरी काम्लो…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गरेका थिए । रासस
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )