कुश्मा, भदौ-२, नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल पर्वतले महिला सञ्चारकर्मी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मोफसल पत्रकारितामा चुनौती बढ्दो रहेको र बदलिँदो परिस्थितिसँग जुध्नका लागि पत्रकारहरूको क्षमता विकास अपरिहार्य भएको बताउनुभयो ।
अध्यक्ष पाण्डेले पत्रकारिता पेशाप्रतिको आकर्षण घट्दै गएको, एआई प्रयोगका चुनौती र कोभिड–१९ पछि आएको आर्थिक मन्दीले सञ्चार माध्यम प्रभावित पारेको भन्दै सबै पक्ष जिम्मेवार भएर यसको समाधानमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, सञ्चारिका समूह पर्वतकी अध्यक्ष रञ्जना खत्रीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा पर्वतमा लामो समयदेखि सक्रिय महिला पत्रकारदेखि भर्खरै यस पेशामा लागेकासम्मलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, प्रतिनिधि सभा सदस्य पदम गिरी, फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा, उपप्रमुख शोभा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि. पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष कृष्ण अखेलीले गर्नुभएको थियो भने सञ्चालन सचिव दुर्गा शर्मा पुजनाले गर्नुभएको थियो ।
सो अवसरमा तीजका गीतमा नाचगान समेत प्रस्तुत गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )