नेपाली समाज मौसमी परिकारहरूमा आधारित परम्परा, प्रकृति र पोषणको समन्वयले भरिएको एक समृद्ध सांस्कृतिक परिवेश हो। यिनै मौलिक पक्षहरूको समिश्रण बोकेको साउन १५ एक विशेष दिन हो, जुन दिनलाई नेपालीहरूले ‘खीर दिवस’को रूपमा उल्लासपूर्वक मनाउने गर्छन्।
असार १५ मा दही–च्युरा र साउन १५ मा खीर — यो परम्परा केवल खानाका लागि होइन, स्वास्थ्य, कृषि चक्र, धार्मिक आस्था र सामाजिक एकताको प्रतीक बनेको छ। वर्षा ऋतुको चिसोपनमा तातो र पोषिलो खीर खानु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। दूधमा चामल, मरमसला, चिनी, सख्खर, ड्राइफ्रुट्स, सेवई, मकै वा गाजर जस्ता स्वादवर्द्धक तथा पोषक तत्व मिसाएर तयार गरिने खीर स्वाद मात्र नभई स्वास्थ्यका लागी हितकर हो।
नेपालको राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ सालदेखि साउन १५ लाई औपचारिक रूपमा ‘खीर दिवस’ को रूपमा मनाउन थालेको हो। बोर्डका अनुसार मानक प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन हुन्छ, जसबाट प्रति १०० ग्राम दूधमा करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ। यसले खीरको पोषणात्मक मूल्यलाई औपचारिक रूपमा पुष्टि गर्दछ। साथै, दूधजन्य परिकारहरूको प्रचार–प्रसार र स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि यसले योगदान पु¥याउँछ।
धार्मिक दृष्टिकोणले हेर्दा, संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक आहार को रूपमा मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार वैदिक सनातन धर्ममा खीरलाई पितृ तर्पण, देव कार्य तथा ब्राह्मण भोजमा अनिवार्य अर्पण गरिने पवित्र भोजनको रूपमा वर्णन गरिएको छ। ऋषिमुनिको पालादेखि चलिआएको यो धार्मिक परम्परा आज पनि श्राद्धलगायत विविध कर्मकाण्डमा कायमै छ।
साउन महिनालाई भगवान् शिवसँग विशेष रूपले जोडिन्छ। शिवलाई दूध र दूधजन्य परिकार मनपर्ने धार्मिक विश्वासका कारण साउनभर शिवलिङ्गमा दूध चढाउने र मिठाइ तथा खीर अर्पण गर्ने प्रचलन रहेको पाइन्छ। यही धार्मिक आस्थासँगै साउनको मध्य अर्थात् साउन १५ मा खीर खाने परम्परा स्थापित भएको हुनसक्छ। तर साउन १५ नै नभएर साउनमा खिर खानुपर्छ भने मान्यता नेपाली समाजमा धेरै पहिलादेखि स्थापित मान्यता हो ।
यस दिनको सांस्कृतिक पक्ष सामाजिक सद्भाव र सामिप्यताको पनि प्रतीक हो। साउन महिनासम्म गाउँघरमा खेतीपातीको काम सकिन्छ, हरियालीको कारण घाँस प्रशस्त पाइन्छ, गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। यही सन्दर्भमा आफ्ना इष्टमित्र, छोरीचेलीलाई घरमा बोलाएर खीर खुवाउने सामाजिक-सांस्कृतिक चलन बसालिएको हो, जुन नातासम्बन्ध बलियो बनाउने एक सशक्त परम्परा हो।
खीरमा विविधता पनि समेटिएको छ, चामलको खीर, मकैको खीर, सेवई वा गाजरको खीर। विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर बनाउने चलन अझ प्रचलनमा छ। नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा पकाइएको भात वा चामलमा चिनी, मसला आदि हाली बनाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ।
यस्तो परिकारले मात्र होइन, खाने समय, मान्यताको आदान–प्रदान, परिवारजन र समुदायको समागमले खीर दिवसलाई एउटा साङ्गठानिक उत्सवको रूप दिएको छ।
नेपाली समाजमा हरेक महिनाको १५ गतेलाई विशिष्ट मौसमी परिकारसँग जोडिएको संस्कारको रूपमा लिने परम्परा छ जस्तै : असार १५ मा दही-च्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा, जसले नेपाली चाडपर्वलाई अझ महत्वपूर्ण बनाएको छ।
अन्ततः, खीर दिवस केवल खानपानको पर्व होइन। यो दिन हाम्रो मौलिक संस्कार, स्वास्थ्य चेतना, धार्मिक आस्था र सामाजिक सम्बन्धको सन्देश बोकेको जीवित परम्परा हो। यस परम्परालाई भाविपुस्तामा पनि निरन्तरता दिँदै स्वाद, संस्कृति र समर्पणको गाथाका रूपमा जोगाउन सबैको साझा जिम्मेवारी हो ।
स्वादसँगै संस्कार बाँड्ने मिठो अवसर बनोस्। शुभकामना !!!
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )