बेनी, भदौ-२७, म्याग्दी कारागार तोडफोड घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी कारागार ऐन २०७९ अन्तर्गत मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलका अनुसार भदौ २५ गते बुधबार विहान बेनी नगरपालिका–२ खर्बाङस्थित जिल्ला कारागार शाखामा रहेका ७६ जना कैदीवन्दीलाई बाहिरबाट पुगेका व्यक्तिहरुले सहयोग पुर्याएका थिए । उनीहरूले कारागारको मुख्य गेटमा लगाइएको ताला तोडेर कैदीवन्दीलाई भगाएका थिए ।
पक्राउ परेकाको पहिचान प्रहरीले हालसम्म गोप्य राखेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र अन्य संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको छ ।
कारागारमा ८७ जना कैदीवन्दी रहेकोमा १२ जना भाग्न असफल भएका थिए । ७६ जना भागेकामध्ये केही आफैं प्रहरी सम्पर्कमा आएका छन् भने केहीलाई पक्राउ गरिएको छ । हालसम्म ३८ जना कैदीवन्दी नियन्त्रणमा आइसकेका छन् । तर अझै ३८ जना फरार छन् ।
म्याग्दी कारागार तोडफोडपछि कैदीवन्दी फरार भएको यो घटना पछिल्ला वर्षकै सबैभन्दा ठूलो सुरक्षा चुनौतीको रूपमा लिइएको छ । घटनापछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले फरार कैदीवन्दीको खोजतलासलाई तीव्र बनाएका छन् ।
सुरक्षा निकायले सर्वसाधारणलाई कुनै पनि फरार कैदीवन्दी देखिए तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अपिल गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )