दरबाङ, साउन ९ गते – म्याग्दीको मालिका गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहिजकरनामा छ्यारछ्यारेस्थित वडा नम्बर ६ को सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले आर्थिक वर्षमा सम्पन्न भएका योजना, खर्च विवरण र उपलब्धिहरू सार्वजनिक रूपमा प्रस्तुत गर्नुभयो।
वार्षिक प्रगति प्रतिवेदन अनुसार, चालु तर्फ ८४ दशमलव ०१ प्रतिशत, पुँजीगत तर्फ ५२ दशमलव ७७ प्रतिशत र समग्रमा ७२ दशमलव ७५ प्रतिशत बजेट खर्च भएको छ। गाउँपालिकाले ७३ लाखभन्दा बढी आन्तरिक राजश्व संकलन गरेको छ।
गत वर्ष १३० वटा योजना उपभोक्ता समिति र १७ वटा योजना विद्यालय व्यवस्थापन समितिमार्फत कार्यान्वयनमा आएका थिए। त्यसैगरी ३३ वटा नयाँ व्यवसाय दर्ता हुँदा १६ वटा व्यवसाय बन्द भएका थिए।
न्यायिक समितिमा परेका ८ वटा उजुरी समाधान भएका छन् भने अपांगता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण लगायतका सामाजिक कार्यहरू पनि सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी नागरिकहरुले उपभोक्ता समिति र ठेक्का मार्फत सञ्चालित योजनामा गुणस्तरको अन्तर, बजेट कटौती, भुक्तानी ढिलाइ, सडक निर्माणमा ढिलासुस्ती, र प्रशासनिक सेवा प्रवाहप्रति असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, तमानखोला गाउँपालिकासँगको सिमाना विवाद, दरबाङ बजार क्षेत्रमा सिसिटिभी जडानको माग, यातायात भाडादर समायोजन, धार्मिक स्थलको प्रवद्र्धन, र हेलिप्याड निर्माण सम्बन्धी सुझावहरु समेत उठाइएका थिए।
उपस्थित जनप्रतिनिधि तथा अधिकारीहरूले उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए। गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीको समेत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको सहजिकरण कृष्ण जिसी र पत्रकार महासंघ बेनीका कोषाध्यक्ष साधन राम्जालीले गर्नुभएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )