लामाखेत, असार-२१, जलजला गाउँपालिकाका मेलमिलापकर्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम शुक्रबार लामाखेतमा सम्पन्न भएको छ। न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मेलमिलाप प्रक्रियालाई अझ प्रभावकारी बनाउने उद्देश्यले न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि तथा मेलमिलापकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला अदालत पर्वतका मेलमिलापकर्ता चुडामणि शर्माले न्यायिक समितिको अधिकार, उद्देश्य तथा न्याय निरूपण विधिका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मेलमिलापकर्ताहरू सक्रीय भए न्यायिक समिति, अदालत, प्रहरी र प्रशासनमा मुद्दाको चाप कम हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले मेलमिलाप केन्द्रहरूलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, उपाध्यक्ष दिपक आचार्यले दोस्रो कार्यकाल सुरु भएयता ४० भन्दा बढी मुद्दाहरू मेलमिलाप प्रक्रियामार्फत समाधान गरिएको जानकारी दिनुभयो। स्थलगतरूपमै पुगेर पक्ष-विपक्षको कुरा सुनेर समाधान गर्ने अभ्यास भइरहेको पनि उहाँले बताउनुभयो। आउँदो आर्थिक वर्षमा सबै वडाका मेलमिलाप केन्द्रहरूलाई थप सुदृढ बनाउन बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो।
कार्यक्रम सञ्चालन न्यायिक सहजकर्ता जीवन मल्लले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )