

म्याग्दी, मङ्सिर-२१, बेनी नगरपालिका–६, अर्थुङ्गेमास्थित जामुनाखर्क माध्यमिक विद्यालयका ८२ जना विद्यार्थीले हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक सहयोग पाएका छन्। स्वर्गीय समाजसेवी तथा शिक्षाप्रेमी हिराबहादुर बानियाँको स्मृतिमा स्थापना गरिएको यो कोषबाट करिब २ लाख रुपैयाँ बराबरको पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्तासहितको शैक्षिक तथा खेलकुद सामग्री विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ।

सहयोग सामग्रीहरू स्व. बानियाँका ससुराबुबा लालबहादुर हमाल, छोराहरू प्रकाश बानियाँ र किरण बानियाँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा वितरण गरेका थिए। सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदी र प्रअ सोमनाथ ढुंगानालाई खेलकुद सामग्री र खेल पोशाक पनि हस्तान्तरण गरिएको थियो।
तीन वर्षअघि पाँच लाख रुपैयाँको अक्षयकोषबाट सुरु भएको यो कोष शनिबार थप २ लाख रुपैयाँ अभिवृद्धि भई हाल १० लाख पुगेको छ। कोषको ब्याजबाट प्रत्येक वर्ष विद्यार्थीलाई सहयोग गर्दै अग्रिम वर्षहरूमा मुल कोष २५ लाख रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको प्रअ ढुंगानाले जानकारी दिए।

सरकारी सेवाबाट अवकाशप्राप्त स्व. हिराबहादुर बानियाँको निधनपछि स्थापना गरिएको यो कोषले विद्यार्थी मात्र होइन, स्थानीय समुदायलाई लक्षित विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा बेनी–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले स्व. बानियाँको शैक्षिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए। यस्तै, विद्यालयबाट यस वर्षको राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता दुई विद्यार्थीलाई वडा अध्यक्ष बानियाँले व्यक्तिगत रूपमा प्रति विद्यार्थी २५ सय रुपैयाँ सहयोगसमेत गरेका छन्।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )