पर्वत, भदौ-२३, नक्कली सर्टिफिकेट बनाउने कार्यमा संग्लन बाग्लुङ्गका एक युवा पक्राउ परेका छन् । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बडिगाड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो ।
नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको केसीमाथि आरोप छ ।
ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको खुलेको जानकारी दिनुभयो ।
सक्कली सर्टिफिकेटधारी चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै नाममा बनेको भेटाएपछि परिसरमा उजुरी गरेको आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले बताउनुभयो ।
‘प्रारम्भिक अनुसन्धान अनुसार एक सर्टिफिकेट बनाएको न्यूनतम् एक लाख रुपैयाँ सम्म लिने गरेको खुलेको छ,’ बज्राचार्यले भन्नुभयो, ‘एक्लैले यस्तो कामै गर्न सक्दैन, यसमा थुप्रै मानिसहरूको संलग्नता रहको आशंका छ ।’
केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )