बेनी, साउन-१८, म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ लम्सुङमा अबिरल वर्षाका कारण एक घर भत्किँदा एक परिवार विस्थापित भएका छन्। शनिबार साँझदेखि निरन्तर परिरहेको भारी वर्षाले स्थानीय ७१ वर्षीय जमलाल विकको कच्ची घर पूर्ण रूपमा भत्किएको हो।
घर भत्किनुका साथै अर्को घरसमेत जोखिममा परेको जानकारी प्राप्त भएको छ। पीडित जमलाल विक र उनकी पत्नीलाई स्थानीयवासीले रातको समयमा सुरक्षित स्थानमा उद्धार गरी छिमेकीको घरमा अस्थायी रूपमा आश्रय दिइएको छ।
“वर्षाका कारण घर पूर्ण रूपमा भत्किएको छ, घरको सबै सामग्री स्थानीयको सहयोगमा बाहिर निकालिएको छ,” लम्सुङ माविका प्रधानाध्यापक शेरबहादुर विकले जानकारी दिनुभयो।
पीडित विक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनीहरू हाल राहतको प्रतिक्षामा छन्। तत्काल बसोबास गर्न सुरक्षित घर नहुँदा वृद्ध दम्पती मानसिक तनावमा परेको स्थानीयहरूले जनाएका छन्।
जिल्लामा जारी अविरल वर्षाका कारण अन्य स्थानहरूमा पनि क्षति भएको भएपनि पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विशेष गरी ग्रामिण सडकहरूमा वर्षाले क्षति पुर्याएको र यातायात अवरुद्ध भएको जानकारी आएको छ।
स्थानीय तह र सम्बन्धित निकायले तत्काल राहत तथा पुनःस्थापना कार्य अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )