जलजला अनलाइन,
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा संचालन हुने कक्षा १२ को परीक्षा आबेदन फाराम खोलेको छ । परीक्षा फारम भर्दा कक्षा ११ उत्तीर्ण गरेको ग्रेडसिट अनिवार्य समाबेश गर्नु पर्ने भनेको छ तर परीक्षा फारम खुल्दासम्म कक्षा १२ का विद्यार्थीले कक्षा ११ को ग्रेडसिट पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको ग्रेडसिट ढाँचाको अन्तिम रूप दिन सकेको छैन । जब कि कक्षा ११ को परीक्षा उत्तीर्ण गरी कक्षा १२ पढिरहेका छन् ।
अघिल्लो शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । नयाँ पाठ्यक्रमअनुसार ११ कक्षा अध्ययन गरेका विद्यार्थीको विद्यालयले नै आन्तरिक परीक्षा लिएर कक्षा १२ मा अध्ययनरत छन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडसिटविना १२ को परीक्षा फारम बुझ्दैन । शिक्षामन्त्री अध्यक्ष हुने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले ढाँचा नै टुंगो लगाएको छैन । जसका कारण करिब चार लाख विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् ।
कक्षा १२ सम्मको शिक्षा विद्यालय तह बनाएपछि कक्षा ११ को नतिजा सार्वजनिक नगरी कक्षा १२ मा भर्ना गर्न मिल्दैन । तर, अहिले कक्षा ११ मा कुनै विषयमा डी प्लस पनि ल्याउन नसकेका विद्यार्थीसमेत कक्षा १२ मा अध्ययन गरिरहेका छन् । नतिजा तयार हुँदा पनि विद्यालयले ग्रेडसिट दिन सकेका छैनन् । विद्यार्थीले आन्तरिक रूपमा नतिजा थाहा पाए पनि कुन ढाँचामा ग्रेडसिट उपलब्ध गराउने भन्ने अन्योल छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले ग्रेडसिटको ढाँचा छिटै तयार हुने बताउनुभएको छ । ‘ग्रेडसिटको ढाँचा तयार भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँग बसेर छलफल गरी अब छिटै सार्वजनिक गर्छौँ । ग्रेडसिट नहुँदाको समस्याबारेमा जानकारी आएको छ । लेटर ग्रेडिङ कार्यविधि संशोधनसहित ग्रेडसिट ढाँचा टुंगो लगाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो ।
तर कक्षा ११ मा सैद्धान्तिक र आन्तरिक मूल्यांकन वा प्रयोगात्मकको क्रेडिट आवरसमेत टुंगो लाग्न सकेको छैन । कतिपय विषयमा राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रबीचमा समन्वय नहुँदा अन्योल बढेको छ ।
स्रोतका अनुसार बोर्डले प्रयोगात्मकको क्रेडिट आवरका विषयमा निर्णय गरेर गत भदौमै शिक्षा मन्त्रालय पठाएको थियो । प्रयोगात्मक बढी भएका कम्तीमा पाँच विषयमा क्रेडिट आवर प्रस्ताव गरी पठाएको छ । फिजिक्स, केमेस्ट्री, बायोलोजी, होटेल म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट गरी पाँच विषयको सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर टुंगाउन बोर्डले शिक्षा मन्त्रालयमा पेस गरेको थियो । सकेसम्म अन्य विषयमा पनि सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर टुंग्याउन बोर्डमा प्रस्ताव गरेको छ । तर, सो प्रस्ताव पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट निर्णय भएको छैन । नयाँपत्रिकाको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )