



म्याग्दी, असोज-२२, बाढीले सडक नै बगाएपछि यातायात सम्पर्कविहीन बनेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको कुनौटा भिरमा चार दिनको निरन्तर प्रयासपछि सडक मार्ग जोडिएको छ। मार्ग जोडिएसँगै चीनको कोरला नाकातर्फको महत्वपूर्ण सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने कामले गति लिएको छ।
रघुगंगा गाउँपालिका–२ कुनौटामा असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले करिब २५० मिटर सडक कटान गरी बगाएपछि उक्त खण्डमा पैदल आवतजावतसमेत जोखिमपूर्ण बनेको थियो।
बाढीले सडकको ठूलो हिस्सा बगाएपछि सडक योजनाले दुईतर्फबाट एक्साभेटर र टिप्पर परिचालन गरी माटो भर्ने, सडकको सतह मिलाउने तथा यातायात सञ्चालनका लागि मार्ग तयार पार्ने काम तीव्र बनाएको थियो। बुधबार मात्रै कुनौटामा छ वटा एक्साभेटर र छ वटा टिप्पर परिचालन गरेर सडक निर्माण तथा मर्मतको काम गरिएको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कुनौटामा सडक मार्ग जोडिए पनि सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्न अझै एक–दुई दिन काम गर्नुपर्नेछ।
यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्य अधिकांश स्थानमा प्रारम्भिक मर्मतको काम सकिएको सडक योजनाले जनाएको छ।
बेनी–जोमसोम–कोरला सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन अहिले पोखरेबगर क्षेत्रको सडक पुलको पहुँचमार्ग निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। पोखरेबगर पुलको बगाएको भाग भरिएर पहुँचमार्ग निर्माण सम्पन्न भएपछि प्राविधिक परीक्षण गरिनेछ।
प्राविधिक परीक्षण सफल भएसँगै बेनी–जोमसोम हुँदै चीनको कोरला नाकासम्मको सडक यातायातका लागि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
कुनौटामा सडक मार्ग जोडिनु र पोखरेबगरमा पुलको पहुँचमार्ग निर्माण तीव्र हुनुका कारण लामो समयदेखि अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनको अन्तिम चरणमा पुगेको छ।















जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )