



म्याग्दी, असोज-२२, बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा स्थापना गरिएको सहायता कक्षको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक अध्यक्ष दिलकुमारी खत्रीले उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायी र सरोकारवालाको सहभागिता थियो।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने, यात्राका क्रममा देखिने समस्या तथा गुनासोको तत्काल सम्बोधन गर्ने, टिकट र भाडामा हुने अनियमितता नियन्त्रण गर्ने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
यात्राका क्रममा कुनै समस्या, गुनासो वा असहजता भएमा यात्रुहरूले कालीपुल बसपार्कमा रहेको सहायता कक्षमा सम्पर्क गरी आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन्।
चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित र सहज यात्रा गराउन सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )