



बेनी, असोज-२१, म्याग्दीका भलिबल खेलाडी तथा प्रशिक्षक तेजेन्द्र बानियाँ अब गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्ष बन्नुभएको छ।
गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशनबाट बानियाँ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।
मंगलबार लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिमा म्याग्दीबाट बानियाँसँगै अशोककुमार शाही र काजोल छन्त्याल पनि सदस्यमा निर्वाचित हुनुभएको छ।
जिल्ला भलिबल संघ म्याग्दीका कार्यवाहक अध्यक्ष कुमार किसानका अनुसार, बानियाँ गण्डकी प्रदेशमा भलिबल प्रशिक्षक तथा रेफ्रीका रूपमा समेत सक्रिय हुनुहुन्छ।
बानियाँले म्याग्दीको केवाईसी क्लब नेप्टेचौरबाट वि.सं. २०६३ सालदेखि भलिबल खेल्न सुरु गर्नुभएको थियो। खेलाडीका रूपमा भलिबलमा प्रवेश गर्नुभएका उहाँ अहिले प्रशिक्षण र खेल व्यवस्थापनमा समेत सक्रिय हुनुहुन्छ।
म्याग्दीमा सुविधासम्पन्न भलिबल कभर्ड हल निर्माण गर्ने अभियानको नेतृत्वसमेत गरिरहनुभएका बानियाँले प्रदेश तहमा भलिबलका लागि काम गर्ने जिम्मेवारी पाएकाले यसलाई अवसरका रूपमा लिएको बताउनुभएको छ।
उहाँले प्रदेशमा प्राप्त जिम्मेवारीलाई सदुपयोग गर्दै युवा खेलाडीलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाउने बताउनुभएको छ।
गण्डकी प्रदेश खेलकुद परिषद्मा दर्ता रहेको विधानअनुसार निर्धारित समयमा निर्वाचन सम्पन्न भएसँगै नयाँ कार्यसमितिले प्रदेशमा भलिबलको विकासका लागि थप योजना अघि बढाउने तयारी गरेको छ।
विशेषगरी युवा खेलाडीको पहिचान, प्रशिक्षण र अवसर विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने उपाध्यक्ष बानियाँको भनाइ छ।
म्याग्दी गण्डकी प्रदेशमै पुरुष तथा महिला भलिबलका लागि बलियो जिल्लाका रूपमा चिनिन्छ। जिल्लाबाट राष्ट्रिय तथा प्रदेशस्तरमा समेत खेलाडी उत्पादन हुँदै आएका छन्।
अब प्रदेश भलिबल संघमा म्याग्दीको प्रतिनिधित्व थप बलियो बनेसँगै यहाँका युवा खेलाडीले प्रशिक्षण, प्रतियोगिता र अवसरका क्षेत्रमा थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
म्याग्दीबाट सुरु भएको भलिबल यात्रा अब गण्डकी प्रदेशको जिम्मेवारीसम्म पुगेको छ। बानियाँको नयाँ जिम्मेवारीले म्याग्दीको भलिबल विकाससँगै प्रदेशभरका युवा खेलाडीको सम्भावनालाई कति फराकिलो बनाउँछ, त्यो भने आगामी दिनले देखाउनेछ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )