

जलजला, भदौ -१२, नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ रोड टु यूएफसीको फाइनलमा प्रवेश गरेका छन्। चीनको सांघाईमा आज भएको बान्टमवेट सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कसिब मर्डकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

पाँच–पाँच मिनेटका तीन राउन्डमा भएको प्रतिस्पर्धाको सुरुवाती चरणमा निकै संघर्ष गरेका ढाँटले तेस्रो राउन्डमा उत्कृष्ट पुनरागमन गर्दै विपक्षी खेलाडीमाथि लगातार मुक्का प्रहार गरेका थिए। प्रतिस्पर्धाको अन्तिम चरण रोमाञ्चक बनेको थियो।
यो जितसँगै ढाँटले आफ्नो व्यावसायिक रेकर्ड ११ जित र एक हारमा पुर्याएका छन् भने मर्डकको अपराजित यात्रा समाप्त भएको छ। मर्डकको रेकर्ड अब आठ जित र एक हार भएको छ।
अब ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा जापानी खेलाडीलाई पराजित गर्न सके ढाँट यूएफसी अर्थात् अल्टिमेट फाइटिङ च्याम्पियनसिपमा प्रवेश गर्नेछन्। यो नेपाली खेलकुदका लागि समेत ऐतिहासिक उपलब्धि बन्नेछ।
ढाँटले यसअघि मे महिनामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
फाइनलको तयारीका क्रममा ढाँटले इन्डोनेसियाको बालीमा अन्तिम प्रशिक्षण सत्र पूरा गरेका थिए। त्यसपछि उनी अगस्ट २३ मा चीनको सांघाई पुगेका थिए।
सेमिफाइनलमा जित हासिल गरेपछि ढाँटले नेपालमा विपत्तिको अवस्था रहेको स्मरण गर्दै सबै नेपालीलाई एकजुट भएर सहयोग गर्न अपिलसमेत गरेका छन्।
उनले प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूका लागि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न र संकटको यो समयमा एक–अर्कालाई साथ दिन आग्रह गरेका छन्।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )