

बेनी, साउन-२१, म्याग्दीको बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले आज यस सेवाको औपचारिक उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पाण्डेले प्रदेश सरकारले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो। यस विस्तारले मिर्गौला रोगीहरूलाई ठूलो राहत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। साथै यस्ता कार्यक्रमको प्रचारप्रसार जनतामाझ अझ बढी हुनुपर्ने पनि उहाँले बताउनुभयो।

यसै क्रममा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको साथै डायलाइसिस विभागमा कार्यरत कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख, म्याग्दीका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य मन्त्रालयका सचिवले पनि आ-आफ्ना धारणा राख्नुभयो। सेवाको गुणस्तर अभिवृद्धि, आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहमा सबैको सहकार्य आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

वक्ताहरूले प्रदेश अस्पताल बेनीलाई जिल्लावासीको भरपर्दो स्वास्थ्य संस्थाको रूपमा स्थापित गर्दै थप विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रम अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
यस सेवा विस्तारसँगै म्याग्दीका मिर्गौला रोगीले अब आफ्नै जिल्लामा थप सहज र प्रभावकारी उपचार पाउने अपेक्षा गरिएको छ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )