

जलजला, साउन-१७, आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालका रैथाने तथा पोषणयुक्त बालीमध्ये एक मानिने कोदोको उत्पादन भने पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको देखिएको छ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत र चीनबाट मात्रै ६१ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ४२ हजार ५ सय ९४ किलो कोदो दाना नेपाल भित्रिएको छ। यसले एक समय कोदो उत्पादनमा आत्मनिर्भर मानिएको नेपाल अहिले आयातमा निर्भर बन्दै गएको संकेत गरेको छ।
अझ विडम्बना त के छ भने, ‘रैथाने बालीको खानी’ भनेर चिनिने नेपालले भारतबाट ४ लाख १ हजार रुपैयाँ खर्चेर ६ हजार १ सय ६ किलो कोदोको बिउसमेत आयात गरेको सरकारी अभिलेखमा उल्लेख छ।
कृषि विज्ञहरूका अनुसार खेतीयोग्य जमिन बाँझो बस्नु, श्रमशक्तिको अभाव, परम्परागत खेतीप्रतिको घट्दो आकर्षण तथा व्यावसायिक उत्पादनमा पर्याप्त प्रोत्साहन नहुनु उत्पादन घट्नुका प्रमुख कारण हुन्।
पोषण, स्वास्थ्य र खाद्य सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कोदोको संरक्षण र उत्पादन वृद्धि गर्न उन्नत बिउ, आधुनिक प्रविधि, बजारको सुनिश्चितता तथा किसानमैत्री नीतिमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्।
दोस्रो राष्ट्रिय कोदो दिवसले रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र आत्मनिर्भर कृषितर्फ सबैको ध्यान केन्द्रित गराउने अपेक्षा गरिएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )