


विद्यार्थी : सुप्रिया आचार्य, कक्षा १२
बिहानको सूर्योदय हुन नपाउँदै सुप्रिया आचार्यको दिन सुरु हुन्थ्यो। म्याग्दी जिल्लाको मंगला गाउँपालिका–४ मा बस्ने यो किशोरी हरेक बिहान झोला बोकेर तेर्सो उकालो र ओरालो गर्दै पहाडी बाटो हिँड्थिन्, गन्तव्य थियो मंगला माध्यमिक विद्यालय। करिब आधा घन्टाको यात्रासँगै उनी विद्यालय पुग्छिन्, झरी–बादलले उनलाई कहिल्यै रोक्दैन। गाउँ छोडेर अन्यत्र गएर पढ्ने पनि उनलाई मन लागेन। “पढ्नु छ भने आफ्नै स्कुलमा पनि सजिलै छ,” उनी भन्छिन्, “अहिले विद्यालयमा कम्प्युटर छ, राम्रो कोठा छ, त्यसैले स्कुल आउन मन लाग्छ।”
सुप्रियाको यो एक्लो कथा होइन। यो मंगला गाउँपालिकाभित्रका सयौँ बालबालिकाको साझा अनुभव हो एउटा यात्रा, जहाँ अँध्यारोबाट उज्यालोतर्फ फर्किँदै गरेको शिक्षाको कथा लेखिँदैछ। स्थानीय सरकारको नीतिगत प्रतिबद्धता, शिक्षकको मेहनत र अभिभावकको सहयोगले यस गाउँपालिकाको शैक्षिक तस्वीर बिस्तारै फेरिँदै गएको छ।

अध्यक्ष : सत प्रसाद रोका
मंगला गाउँपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको वर्षौँ भइसकेको छ। गाउँपालिका अध्यक्ष सत प्रसाद रोका भन्छन्: “विकासको जग शिक्षा हो। हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाएनन् भने पूर्वाधारमा गरिने कुनै पनि लगानी अधुरो हुन्छ, युगको माग र विकासको बाटो नै शिक्षा हो, त्यसैले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिएको छ।”
मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नेपाल सरकारको सशर्त अनुदानसहित रु. १९ करोड ३१ लाख ५० हजार विनियोजन गरेको थियो।
तालिका १: शिक्षा कार्यक्रम बजेट विवरण (आ.व. २०८२/८३)
| क्र.सं. | कार्यक्रम / शीर्षक | विनियोजित रकम (रु.) |
|---|---|---|
| १ | बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा गाउँपालिका अनुदान शिक्षकहरूको तलबभत्ता | १,०५,६०,००० |
| २ | बालबालिकासँग अध्यक्ष कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण | ११,५०,००० |
| ३ | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता | १५,००,००० |
| ४ | शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम | आवश्यक बजेट व्यवस्था |
| ५ | मंगला शिक्षा क्याम्पस शैक्षिक व्यवस्थापन अनुदान | १५,००,००० |
| ६ | छात्रवृत्ति कार्यक्रम | १,५०,००० |
| ७ | शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन | ४,००,००० |
| ८ | मंगला मा.वि. पूर्वाधार निर्माण | ७,००,००० |
| ९ | मंगला शिक्षा क्याम्पस पूर्वाधार निर्माण | ५,००,००० |
| १० | विद्यालय भवन निर्माण, मर्मत सम्भार, शौचालय निर्माण तथा घेराबार | बजेट व्यवस्था गरिएको |
| नेपाल सरकारको सशर्त अनुदानसहित शिक्षा क्षेत्रको कुल बजेट | १९,३१,५०,००० |
विद्यालय रूपान्तरण: चार पर्खाल भित्रको बदलाव
मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गम बहादुर खत्री केही वर्ष अगाडिको र अहिलेको विद्यालयलाई तुलना गर्न थाल्छन् र उनको अनुहारमा गर्व छल्कन्छ।

गम बहादुर खत्री : प्रधानाध्यापाक मंगला मावी
“पहिले सामान्य भवन हुन्थ्यो, कक्षाकोठामा भुइँ धुलोमैलो हुन्थ्यो। कहिलेकाहीँ वर्षायाममा छानो चुहिन्थ्यो र विद्यार्थीहरू भिजेरै पढ्थे। अहिले नयाँ कक्षाकोठाहरू छन्, कम्प्युटर प्रयोगशाला छ, पुस्तकालय छ। त्यसैले विद्यार्थीहरू आनन्दले पढ्न पाएका छन्। कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय — सबै सुविधा छ। त्यति मात्र होइन, अभिभावकको चाहनाअनुसार अंग्रेजी माध्यममा पनि कक्षा सञ्चालन गरिएको छ। त्यसले गर्दा नतिजा पनि क्रमशः राम्रो हुँदै गएको छ र गाउँपालिकाको पनि राम्रै सहयोग रहेको छ।”
गाउँपालिकाको विद्यालय सुधार कार्यक्रम अन्तर्गत अहिले विद्यालयलाई डिजिटल पहुँचमा पुर्याउने लक्ष्यअनुसार काम भइरहेको छ। अहिले मंगला गाउँपालिकाका सबै विद्यालयमा डिजिटल पहुँच पुगेको छ, स्मार्ट बोर्डसमेत स्थापना गरेर पढाइ हुँदै आएको छ भने इन्टरनेट कनेक्टिभिटी र स्मार्ट बोर्डको सुविधा पनि क्रमशः विस्तार हुँदैछ।

शिक्षक: परिवर्तनका वास्तविक सारथी

करण कंडेल : शिक्षक
जतिसुकै राम्रो पूर्वाधार भए पनि कक्षाकोठाभित्र परिवर्तनको जादु गर्ने शिक्षक नै हुन्। मंगला माविमा विज्ञान पढाउने शिक्षक कारण कँडेल भन्छन्:
“पहिले हामीसँग न प्रयोगशाला थियो, न उपकरण। किताबको कुरा किताबमै रहन्थ्यो। अहिले विद्यार्थीले देखेर, छोएर, परीक्षण गरेर सिक्न पाउँछन् , फरक नै छ।”
गाउँपालिकाले गत वर्ष ‘सिकाइ उपलब्धि बढाउँ सामुदायिक विद्यालय साझेदारी कार्यक्रम’ अन्तर्गत पालिकाका सम्पूर्ण प्रधानाध्यापकलाई उत्कृष्ट अभ्यास गरेका विद्यालयको भ्रमण समेत गराएको छ। त्यसैगरी शिक्षकलाई बाल-मैत्री शिक्षण विधि, समावेशी शिक्षा र डिजिटल साक्षरतामा जोड दिइयो।
शिक्षा शाखा प्रमुख गणेश बहादुर कटुवालका अनुसार शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय सुधार कार्यक्रमका १६ वटा कार्यक्रम सम्पन्न भइसकेका छन् र २ वटा मात्र बाँकी रहेको छ, यो आर्थिक वर्षको अन्त्यसम्ममा सबै सम्पन्न गरिने बताउनुभयो। उहाँका अनुसार शिक्षकको सक्षमता अभिवृद्धि नै दिगो शैक्षिक सुधारको आधार हो भने अभिभावक शिक्षा महत्त्वपूर्ण भएकोले आगामी वर्ष अभिभावक शिक्षा र चेतनामा पनि जोड दिने बताउनुभयो।

शिक्षा शाखा प्रमुख गणेश बहादुर कटुवाल
उहाँले भन्नुभयो, “अबको युग भनेको डिजिटल युग भएकोले सम्पूर्ण क्रियाकलापको कागजातीकरण डिजिटलाइज्ड गरिने छ।”
तर चुनौती पनि छन्। दुर्गम वडाहरूमा दक्ष शिक्षकको अभाव, अनुपस्थितिको समस्या र विषयगत शिक्षकको कमी अझै समाधान खोजिरहेका प्रश्न हुन्।

शैक्षिक अवस्था: तथ्याङ्कका आधारमा
संख्याहरूले नबोल्ने हो भने कुनै पनि परिवर्तनको कथा अधुरो हुन्छ। मंगला गाउँपालिकामा शैक्षिक सत्र २०८१ को तुलनामा —
एसईई उत्तीर्ण दर (ग्रेडेड प्रतिशत): ७८.८९%
विद्यार्थी भर्ना दर: ७.६९ प्रतिशतले घटेको
कुल विद्यालय संख्या: सामुदायिक ३८ वटा, संस्थागत २ वटा
कुल विद्यार्थी संख्या: २४००
कुल शिक्षक संख्या (दरबन्दी/करार/राहत): २४२
विद्यार्थी–शिक्षक अनुपात: ९.९२:१
यी आँकडाहरू केवल संख्या मात्र होइनन् — यी प्रत्येक संख्यापछाडि एउटा परिवारको सपना, एउटा बालबालिकाको भविष्य लुकेको छ।
पालिकामा रहेका विद्यालयहरू र शिक्षकहरूको विवरण यस्तो रहेको छ।
अभिभावकको आवाज

अभिभावक कमला बौद्धाचार्य
मंगला गाउँपालिका वडा नं. १, बाबियाचौर निवासी अभिभावक कमला बौद्धाचार्य भन्नुहुन्छ, “मेरा बालबच्चा यहीँको सरकारी विद्यालय मंगला माविमा पढ्छन्। पछिल्ला
वर्षहरूमा विद्यालयले धेरै सुधार गर्दै आइरहेको छ, धेरै विद्यार्थीहरू उत्तीर्ण हुने गरेका छन्। विद्यार्थीहरू बसाइसराइ गरेर जानेबाहेक पढाइका लागि मात्र भनेर धेरैजसो बाहिर जान छोडेका छन्।” उहाँले थप्नुभयो, “विद्यालयमा शिक्षक नहुने समस्या छैन, त्यसैले पठनपाठन राम्रै छ, हामी सन्तुष्ट छौँ।”
यो विश्वास फर्काउनु नै मंगला गाउँपालिकाको सबैभन्दा ठूलो उपलब्धि हो — अभिभावकहरू अब सामुदायिक विद्यालयमा आफ्नो बच्चा पठाउन हिचकिचाउँदैनन्।
तर अभिभावकहरूको माग पनि छ। “पाठ्यपुस्तक समयमा आउनुपर्छ। परीक्षाको तयारीमा थप मद्दत चाहिन्छ। केही ठाउँमा शिक्षकको कमी छ, त्यो पूरा होस्।”
चुनौती: यात्रा अझै लामो छ
यस वर्षको SEE नतिजा र कक्षा ८ को नतिजा विश्लेषण गरेर हेर्ने हो भने शैक्षिक सुधारमा धेरै नै चुनौती देखिन्छ।
समग्र नतिजा
कुल सहभागी विद्यार्थी: १९९
उत्तीर्ण (ग्रेड प्राप्त): १५७
ननग्रेड (NG): ४२
उत्तीर्ण प्रतिशत: ७८.८९%
GPA अनुसार वितरण
| GPA समूह | विद्यार्थी संख्या | प्रतिशत |
|---|---|---|
| ३.६–४.० | ३ | १.५१% |
| ३.२–३.६ | ३० | १५.०८% |
| २.८–३.२ | ६६ | ३३.१७% |
| २.४–२.८ | ५० | २५.१३% |
| २.०–२.४ | ८ | ४.०२% |
| १.६–२.० | ० | ०% |
| NG | ४२ | २१.११% |
अधिकांश विद्यार्थी २.८–३.२ GPA समूहमा छन् (३३.१७%)। २ भन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थी ३३ जना रहेका छन्। ३.६ भन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थी केवल ३ जना मात्र छन्। NG (ननग्रेड) ४२ जना अर्थात् २१.११% हुनु चुनौतीपूर्ण पक्ष देखिन्छ।
त्यसैगरी कक्षा ८ को आधारभूत तहको यस वर्षको नतिजालाई विश्लेषण गर्ने हो भने —मंगला गाउँपालिका, म्याग्दीको कक्षा ८ को विषयगत नतिजा (EMIS २०८२) अनुसार:
१. विषयगत उत्कृष्ट प्रदर्शन
| विषय | A+ संख्या |
|---|---|
| विज्ञान तथा प्रविधि | १०० |
| अंग्रेजी | ९० |
| गणित | ६६ |
| सामाजिक तथा मानव मूल्य शिक्षा | ५२ |
| स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला | २९ |
| नेपाली | २५ |
| कम्प्युटर शिक्षा | २० |
| हाम्रो मंगला | ६ |
| व्याकरण | ३ |

विज्ञान तथा प्रविधि सबैभन्दा उत्कृष्ट विषय देखिएको छ।
अंग्रेजी र गणितमा पनि राम्रो उपलब्धि छ। व्याकरण र हाम्रो मंगलामा उत्कृष्ट नतिजा न्यून छ।
२. कमजोर विषय (NG र D को आधारमा)
| विषय | D | NG |
|---|---|---|
| नेपाली | ५ | ५ |
| अंग्रेजी | ५ | ५ |
| गणित | ५ | ५ |
| विज्ञान तथा प्रविधि | ५ | ५ |
| सामाजिक अध्ययन | ५ | ५ |
| स्वास्थ्य | ५ | ५ |
| हाम्रो मंगला | ४ | ४ |
| व्याकरण | १ | १ |
| कम्प्युटर | ० | ० |
कम्प्युटर शिक्षामा कुनै पनि विद्यार्थी NG छैन। अधिकांश मुख्य विषयमा ५–५ जना विद्यार्थी D र NG मा देखिन्छन्।
उपलब्धिका बीच चुनौतीहरूलाई ओझेलमा पार्न मिल्दैन। गाउँपालिकाकै शिक्षा शाखाले स्वीकार्छ कि भौगोलिक कठिनाइ अझै ठूलो बाधा छ। दुर्गम वडाहरूमा विद्यालय पुग्न नसक्ने बालबालिका अझै छन्। शिक्षकको दरबन्दी समस्या पनि पूर्ण रूपमा हल भइसकेको छैन। शैक्षिक सामग्रीको अभाव र इन्टरनेट कनेक्टिभिटी पहाडी क्षेत्रमा अझै टड्कारो समस्या हो।
विशेष आवश्यकता भएका बालबालिकाका लागि समावेशी शिक्षाको पूर्वाधार र दक्ष जनशक्तिको अभाव पनि समाधान खोजिरहेको छ। भौतिक पूर्वाधारको पर्याप्त विकास गर्न सकिएको छैन — कक्षाकोठा अपुग, शौचालय/खानेपानी समस्या, भवन जीर्ण भएका पनि छन्, त्यसलाई सुधार्नुपर्छ। शिक्षक दरबन्दी र उपस्थिति: दरबन्दी अपुग, करार शिक्षकको अनिश्चितता, टाढाका विद्यालयमा शिक्षक जान नचाहने प्रवृत्ति। विद्यार्थी संख्या घट्दो: जन्मदर घट्दै जानु र विद्यालय जाने बच्चाको संख्या कम हुँदा विद्यार्थी संख्या हरेक वर्ष घट्दै गइरहेको छ। पहुँचको समस्या: टाढाका वडाबाट विद्यालय पुग्न लाग्ने समय, बाटोघाटोको अभाव, वर्षायाममा विद्यालय जान कठिनाइ। गुणस्तरको प्रश्न: नतिजा राम्रो भए पनि वास्तविक सिकाइ स्तरमा कमजोरी, अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोरी (सिकाइ उपलब्धि) देखिएको छ।

आगामी योजना: भोलिको तस्वीर
गाउँपालिका अध्यक्ष सत प्रसाद रोका भन्छन्, आगामी आर्थिक वर्ष २०८३/८४ भित्र :
शिक्षा शाखा प्रमुख गणेश बहादुर कटुवालका अनुसार आगामी वर्ष प्रत्येक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, शिक्षक तालिमको दायरा विस्तार र छात्रवृत्ति रकम वृद्धि गर्ने लक्ष्य राखिएको छ।

निष्कर्ष: उज्यालो पहिले मनमा
फेरि सुप्रिया आचार्यकहाँ फर्कौँ। अहिले उनी कक्षा १२ मा पढ्छिन्। प्राविधिक धार तर्फ कृषि तथा बाली विज्ञान अध्ययन गरिरहेकी छिन्। कृषि विज्ञ बन्ने उनको सपना छ। “मेरा बुबाआमा सबै कृषक हुनुहुन्छ, मैले यही माटो र खेतीपातीसँग खेल्न सिकें। नेपाल कृषिप्रधान देश पनि भनिन्छ, त्यसैले कृषिका लागि चाहिने दक्ष प्राविधिक बन्छु र कृषि क्षेत्रलाई माथि उठाउँछु भन्ने मेरो लक्ष्य छ।” त्यो “बन्छु” भन्ने विश्वास नै मंगला गाउँपालिकाको शिक्षा यात्राको सबैभन्दा ठूलो उपलब्धि हो। तथ्याङ्क बदलिन्छन्, भवन बन्छन्, प्रयोगशाला थपिन्छन् — तर एउटा बच्चाको मनमा सम्भावनाको उज्यालो बल्यो भने, त्यो लगानी कहिल्यै खेर जाँदैन। तर यी उपलब्धिले गाउँको पूरा यथार्थलाई ढाक्न मिल्दैन। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र पहुँचको समस्या अझै कायम छन्, र यिनको सम्बोधन नभई शैक्षिक यात्रा पूर्ण हुँदैन।
यसरी हेर्दा मंगलाको शैक्षिक यात्रा न पूर्ण सफलताको हो, न पूर्ण संघर्षको यो हो बिस्तारै आकार लिँदै गरेको रूपान्तरणको कथा, जहाँ गाउँपालिकाको नीतिगत प्रतिबद्धता र शिक्षक–विद्यार्थी–अभिभावकको मेहनतले एउटा बाटो त खोलिदिएको छ, तर त्यो बाटोलाई गन्तव्यसम्म पुर्याउन भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र गुणस्तर सुधारमा अझै लगानी र तदारुकता चाहिन्छ।
शिक्षाको यो यात्रा अझै जारी छ र मंगला गाउँपालिकाका बालबालिका यसका सबैभन्दा सशक्त पात्र हुन्।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )