


म्याग्दी, असार-१२, गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दी जिल्ला देशभरकै दोस्रो उत्कृष्ट जिल्ला बनेको छ।
कुल १८ दशमलव २५ पूर्णाङ्कमध्ये म्याग्दीले १७ दशमलव ८७ अङ्क प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। ७७ जिल्ला प्रशासन कार्यालयमध्ये मनाङ पहिलो र म्याग्दी दोस्रो स्थानमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभएको छ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्धन, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास सहजीकरणलगायतका सूचकमा उत्कृष्ट कार्यसम्पादनका कारण म्याग्दीले उच्च अंक प्राप्त गरेको उहाँले बताउनुभयो।
यद्यपि राष्ट्रिय परिचयपत्र वडास्तरमा वितरणका क्रममा सेवाग्राहीको संख्या अपेक्षाकृत कम भएकाले केही अंक गुमाउनुपरेको प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार वैदेशिक रोजगारीमा रहेका नागरिकको संख्या बढी भएकाले वडास्तरीय शिविरमार्फत परिचयपत्र वितरणमा अपेक्षित प्रगति हुन सकेन।
प्रमुख जिल्ला अधिकारी आचार्यले प्राप्त नतिजाले थप जिम्मेवार बनाएको बताउँदै नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी र सहज बनाउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले म्याग्दीवासीको साथ र सहयोगकै कारण यो सफलता हासिल भएको भन्दै आगामी मूल्याङ्कनमा देशकै उत्कृष्ट जिल्ला बन्ने लक्ष्यसहित काम गरिने बताउनुभयो।
यसैबीच, जिल्लाभित्र सञ्चालनमा रहेका तथा अलपत्र आयोजनाको नियमित अनुगमनसँगै मनसुनजन्य विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि थप सतर्कतासहित तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षा निकाय तथा जिल्लास्थित सबै सरकारी कार्यालयको सामूहिक प्रयासले यो उपलब्धि सम्भव भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयहरूको विभिन्न सूचक र मापदण्डका आधारमा हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दी पहिलोपटक उत्कृष्ट जिल्लामध्ये पर्न सफल भएको हो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )