

बेनी, असार-१२, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले बजेट अनुमोदन गरेको हो।
पारित बजेटले शिक्षा सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा प्रविधिमैत्री सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।
कुल बजेटमध्ये ४५ करोड ८६ लाख २ हजार रुपैयाँ, अर्थात् ७५ प्रतिशत चालुतर्फ तथा १५ करोड २८ लाख ६७ हजार रुपैयाँ, अर्थात् २५ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ। विषयगत शाखाका कार्यक्रमका लागि ५ करोड ४४ लाख ६७ हजार, प्रशासनिक खर्च तथा कार्यक्रम कार्यान्वयनका लागि २३ करोड ११ लाख ४० हजार र वडा कार्यालयमार्फत सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमका लागि ८ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ।


गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँड, प्रदेश सरकारको अनुदान, गाउँपालिकाको आन्तरिक आय र बैंक मौज्दात परिचालनमार्फत बजेटको स्रोत व्यवस्थापन गरिनेछ।
चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म गाउँपालिकाले कुल विनियोजित बजेटको ४९ दशमलव १४ प्रतिशत अर्थात् ३० करोड १७ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार यस अवधिमा चालुतर्फ ५९ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फ ३२ दशमलव ३२ प्रतिशत खर्च भएको छ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभयो।
नीति तथा कार्यक्रममा स्थानीय रैथाने बाली संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आकर्षित गर्न ‘बिउ पुँजी’ कार्यक्रम सञ्चालन, पुनहिल र तातोपानी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा पदयात्रीका लागि हेल्थ डेस्क स्थापना गर्ने योजना समावेश गरिएको छ।
त्यसैगरी विद्यालय खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, महिलाका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विगतदेखि अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै ‘समृद्ध अन्नपूर्ण’ निर्माण गर्ने लक्ष्य गाउँपालिकाले अघि सारेको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )