

अजय मिलन श्रेष्ठ/बेनी, असार-१, म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका शिक्षाप्रेमी तथा समाजसेवी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ।
बेनी नगरपालिका–७ स्थित प्रकाश माध्यमिक विद्यालयका जग्गादाता लक्ष्मीप्रसाद श्रेष्ठ र पुतलीदेवी श्रेष्ठ दम्पतीको स्मृतिमा स्थापित ‘पुतलीदेवी लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान’ले फगामीलाई सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित अभिनन्दन गरेको हो।
दरबाङस्थित जनप्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ तथा संस्थापक सदस्यहरूले फगामीलाई सम्मान प्रदान गर्नुभएको थियो।
पूर्व शिक्षकसमेत रहनुभएका फगामीले दुई दशकभन्दा बढी समय शिक्षण सेवामार्फत हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्नुभएको छ। शिक्षण सेवाबाट निवृत्त भएपछि पनि उहाँ शिक्षा क्षेत्रको विकास, भौतिक पूर्वाधार निर्माण तथा सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आउनुभएको छ।
फगामीका पिता दिवङ्गत क्याप्टेन करवीर फगामीले वि.सं. २०५८ सालको भीषण वर्षा र पहिरोपछि संकटमा परेको जनप्रिय माध्यमिक विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आफ्नो बहुमूल्य जग्गा निःशुल्क दान गर्नुभएको थियो। सोही जग्गामा हाल विद्यालयका आधुनिक संरचना निर्माण भई सञ्चालनमा रहेका छन्।
कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले फगामी परिवारको शैक्षिक योगदानको प्रशंसा गर्दै यस्तो सम्मानले शिक्षा र सामाजिक सेवामा समर्पित व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिष्ठानले फगामी परिवारले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई शिक्षा सेवा पुरस्कार प्रदान गरिएको जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )