

शिक्षाका लागि राष्ट्रिय अभियान, NCE नेपाल को आयोजनामा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह (GAWE) २०२६” अन्तर्गत स्थानीय तहको बजेटमा शिक्षा र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बैशाख ८ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बैशाख १४ गते म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा NCE नेपालका निबर्तमान अध्यक्ष राजेन्द्र पहारीले स्थानीय तहको बजेटमा शिक्षा क्षेत्रको प्राथमिकता र प्रतिबद्धताका विषयमा जानकारी दिनुभएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख अशोक रिजाल, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र उपप्रमुख लक्ष्मी देवी घर्ती मगर पुनले शिक्षा क्षेत्र सुदृढीकरणका लागि आफ्नो धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले पालिकाले शिक्षा क्षेत्रमा गरेका सकारात्मक अभ्यासबारे प्रकाश पार्नुभयो। कार्यक्रम उहाँकै अध्यक्षतामा सम्पन्न भएको थियो।
संगम म्याग्दीले सञ्चालन गरेको परियोजना अन्तर्गत कार्यक्रम अधिकृत प्रकाश रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संगम म्याग्दीका उपाध्यक्ष तथा NCE नेपाल म्याग्दीका कोषाध्यक्ष देवी सुबेदी जिसीले व्यक्त गर्नुभएको थियो। कार्यक्रम संगम म्याग्दी र मिलन म्याग्दी को व्यवस्थापनमा सम्पन्न भएको हो।

यसअघि, बैशाख ८ गते बेनीको वीरेन्द्र चोकमा नागरिक समाज तथा विभिन्न व्यक्तिहरूको सहभागितामा दीप प्रज्वलनसहित सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको थियो। सोही अवसरमा म्याग्दीको बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयलाई नगद ५ हजार रुपैयाँ सहयोग समेत गरिएको आयोजकले जनाएको छ।

“शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह (GAWE)” UNESCO र Education International जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको पहलमा सुरु भएको अभियान हो। यसको उद्देश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु, शिक्षा अधिकारलाई सुदृढ बनाउनु र सरकार तथा सरोकारवालालाई शिक्षा नीतिमा जिम्मेवार बनाउन प्रेरित गर्नु रहेको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )