

बेनी,फागुन-२९, म्याग्दीको बेनीस्थित न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तरमावि विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। एसईई परीक्षा नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो।


प्रतियोगितामा जिल्लाका विभिन्न दस वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा लिटिल गार्डन एकेडेमी प्रथम, प्रकाश माध्यमिक विद्यालय द्वितीय र बेनी आवासीय माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन्। यसैगरी आयोजक विद्यालय न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन तथा रेडक्रससँग सम्बन्धित विभिन्न विषयका प्रश्नहरू सोधिएको थियो। साथै विद्यार्थीहरूको तर्क क्षमता, छिटो उत्तर दिने क्षमता तथा ज्ञानको परीक्षण गर्न रेपिड फायर राउन्ड समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले विद्यालयस्तरमा गठन भएका युवा रेडक्रस सर्कलले आयोजना गर्ने यस्ता प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीमा सेवा, मानवता र सहकार्यको भावना विकास हुने बताउनुभयो।

उहाँले रेडक्रसको अभियानमा आबद्ध विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न यस्ता गतिविधिहरू महत्त्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो। प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र, खादा तथा गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल डिबिदा हालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नुभएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै एसईई परीक्षाको तयारीमा समेत सहयोग पुग्ने विश्वास आयोजक विद्यालयले व्यक्त गरेको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )