

बेनी, फागुन-१६, प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले दलिय राजनीतिबाट आजित भएका जनतालाई विकल्प दिन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।
शुक्रबार रघुगंगा गाउँपालिकाका विभिन्न वडामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै पुनले शिक्षामन्त्री हुँदा आवश्यक कानुन बनाउन नसकेपछि संसदबाटै पूरा गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गर्नुभयो।
उहाँले आफूले सुरु गरेको काम पूरा गरेरै छोड्ने स्वभाव रहेको भन्दै आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा दलविरुद्ध लक्षित नभएको स्पष्ट पार्नुभयो। शिक्षा सुधारका योजनाहरू अलपत्र परेकाले त्यसलाई निरन्तरता दिन चुनाव लडेको उहाँको भनाइ छ।
रघुगंगा–३ मौवाफाँटमा आयोजित कार्यक्रममा पुनले रोजगार सिर्जना गर्न स्पष्ट भिजन र लगानीमैत्री वातावरण आवश्यक पर्ने बताउनुभयो। आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो काम र दृष्टिकोण मन परे मात्र मत दिन आग्रह गर्नुभयो।
आर्थिक प्रलोभनमा नपरी विवेकपूर्ण मतदान गर्न पनि उहाँले अपिल गर्नुभयो।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले शिक्षा, अनुसन्धान, नवप्रवर्द्धन, रोजगारी र अर्थतन्त्र सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्ट व्यक्तिसँग संगत नगर्ने दाबी गर्नुभएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )