

म्याग्दी, फागुन -९, नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी ‘केबी’ ले म्याग्दी जिल्लाको समग्र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दोस्रो चरणको चुनावी अभियान अन्तर्गत धवलागिरी र मालिका गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित चुनावी सभा तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
ताकममा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार भण्डारीले हिमाली जिल्ला घोषणा भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले जिल्लामा आउने विकास बजेटको प्रभावकारी परिचालन तथा यहाँ रहेका सम्भावनामा लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
म्याग्दी बनाउने र म्याग्देली जनताको आवश्यकता पूरा गर्ने प्रतिनिधिको रुपमा संसदमा गर्विलो उपस्थिति जनाउने बताउँदै उहाँले एकपटक अवसर दिन मतदातासँग अनुरोध गर्नुभयो ।
नेपाली कांग्रेसले ताकम, देविस्थान र चिउरीबोटका विभिन्न बस्तीमा पुगेर मतदातासँग साक्षात्कार गर्दै आफ्ना नीति, योजना र विकासका प्राथमिकताबारे जानकारी गराएको जनाएको छ । मालिका र धवलागिरी गाउँपालिकामा रहेका तामा तथा ढुंगा खानी उत्खननमा देखिएका नीतिगत तथा कानुनी जटिलताका कारण जिल्लाले अपेक्षित प्रत्यक्ष लाभ लिन नसकेको उल्लेख गर्दै उम्मेदवार भण्डारीले एक वर्षभित्र आवश्यक नीति निर्माण गरी स्थानीयलाई प्रत्यक्ष लाभ हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।
चिउरीबोटमा आयोजित प्रमुख चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति तथा निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ र निर्वाचन परिचालन समितिका संयोजक एवं पूर्व सभापति रेशमबहादुर बानियाँलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ । स्थानीय तहसम्म संगठन सुदृढ बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका साथ कांग्रेस म्याग्दीले दोस्रो चरणको अभियानलाई तीव्र बनाएको जनाएको छ ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )