

म्याग्दी, फागुन-४, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी ले आफ्नो मतदाता भेटघाट तथा प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन्।
जिल्लाको म्याग्दी जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका का विभिन्न बस्तीहरूमा आइतबार आयोजित कार्यक्रममा पार्टीका जिल्ला सभापति खम बहादुर गर्बुजा खम्बीर सहितको टोलीले दोसल्ले, टिकोट र घराम्दीका मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ। टोलीले स्थानीयका समस्या सुन्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेको थियो।

उम्मेदवार भण्डारीले अन्नपूर्ण क्षेत्रलाई पर्यटनमार्फत आर्थिक समृद्धिसँग जोड्ने योजना अघि सारेका छन्। उनले पर्यटन विकास, रोजगारी सिर्जना र बस्तीबस्तीमा पुग्ने सडक स्तरोन्नतिलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीसमेत रहेका सभापति गर्बुजाले आफू छोटो समय मन्त्री हुँदा पनि अन्नपूर्णको विकासका लागि विभिन्न योजना अघि बढाएको उल्लेख गरे। ती योजनालाई पूर्णता दिन र जिल्लाको समग्र विकासका लागि ऊर्जाशील युवा नेतृत्वलाई उम्मेदवार बनाइएको भन्दै उनले सबैसँग सहयोगको अपिल गरे।

उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट रूपान्तरण भई नयाँ स्वरूप र पुस्तान्तरणसहित अगाडि बढेको दाबी गरे। उनले बोलेर मात्र होइन, काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै जनतालाई ढुक्क भएर मत दिन आग्रह गरे।
कार्यक्रममा उनले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा बेरोजगारीका समस्यालाई दीर्घकालीन समाधान गर्ने स्पष्ट योजना आफूहरूसँग रहेको बताए। कानुनका विद्यार्थीसमेत रहेका भण्डारीले नीति निर्माण र स्थानीय खानी सञ्चालनका विषयमा समेत आफू स्पष्ट रहेको धारणा राखे।
प्रचार तथा जनभेटघाट कार्यक्रममा पालिका सभापति कृष्ण बरुवाल, जिल्ला कार्यसमिति कोषाध्यक्ष अमृतमान श्रेष्ठ, निर्वाचन क्षेत्र ‘क’ का सभापति ओम छन्त्याल लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )