

नेपालको शैक्षिक जगतमा एउटा यस्तो दृश्य आजभोलि सामान्य बन्न थालेको छ, जहाँ कक्षाकोठाका बेन्चहरू रित्ता छन्, तर शिक्षकको मन भने पीडा र जिम्मेवारीको बोझले भरिएको छ। विशेषगरी हाम्रा विद्यालयहरूमा कक्षाका विद्यार्थीहरूको अनियमितता एउटा विकराल समस्या बनेको छ। यो केवल एउटा विद्यालयको कथा होइन, यो हजारौं इमान्दार शिक्षकहरूको साझा व्यथा हो।

शिक्षकले कक्षाकोठामा पुग्दा जब विद्यार्थी देख्दैन, उसको उत्साह त्यहीँ मर्न थाल्छ। भोलिपल्ट आएका विद्यार्थीलाई ‘किन आएनौ?’ भनेर सोध्दा पाइने ओठे जवाफ र ‘अबदेखि आउँछु’ भन्ने झुटो आश्वासनले शिक्षकलाई पटक-पटक अपमानित महसुस गराउँछ। “सरी सर” भन्नु आजभोलि विद्यार्थीका लागि एउटा फेसन जस्तै भएको छ, जसमा न कुनै पश्चाताप छ, न सुध्रिने नियत। शिक्षकले कहिले मायाले सम्झाउँछ, कहिले भविष्यको डर देखाउँछ, त कहिले एक्लै राखेर काउन्सिलिङ गर्छ। तर, विद्यार्थीहरू भने शिक्षकको यो मेहेनतलाई कमजोरी ठान्छन् र अर्को दिन फेरि उही गल्ती दोहोर्याउँछन्। बाहिरको समाजले केवल नतिजा खोज्छ, शिक्षकले गरेको त्यो व्यक्तिगत लगानी र भावनात्मक संघर्ष कसैले देख्दैन।
जब शिक्षकले अभिभावकलाई गुहार्छ, त्यहाँबाट आउने उत्तर झन् निराशाजनक र लाचार हुन्छ— “सर, हामीले भनेको त टेर्दैन, हजुरले नै केही गरिदिनुस्।” आफ्नै सन्तानलाई घरमा तह लगाउन नसक्ने अभिभावकले विद्यालयबाट कुन जादुको अपेक्षा गरिरहेका छन्? घरमा अभिभावकले नटेर्ने र विद्यालयमा शिक्षकको प्रयासलाई बेवास्ता गर्ने विद्यार्थी आखिर कता जाँदैछ? अभिभावकले “हजुरले नै सम्झाइदिनुस्” भन्नु भनेको आफ्नो कर्तव्यबाट भाग्नु हो। समाजले शिक्षकलाई ‘मागिखाने’ वा ‘काम नगर्ने’ आरोप लगाउन त निकै सजिलो मान्छ, तर त्यही समाजले विद्यार्थीको कुलत, मोबाइलको नग्न प्रदर्शन र अभिभावकको उदासीनतालाई कहिल्यै प्रश्न गर्दैन।
शिक्षक आज एउटा ठूलो धर्मसंकटमा छ। एकातिर अनियमित र उद्दण्ड विद्यार्थीलाई सुधार्न खोज्दा आफ्नो ऊर्जा र समय खर्च भइरहेको छ, जसले गर्दा पढ्न चाहने र जेहेन्दार विद्यार्थीहरूले पाउनुपर्ने पर्याप्त समय र ध्यान (Care) पाइरहेका छैनन्। केही नपढ्ने र कहिल्यै विद्यालय नआउने दुई-चार जना विद्यार्थीको पछि लाग्दा सिङ्गो कक्षाको नतिजा प्रभावित भइरहेको छ। अर्कोतिर, राज्यको उपेक्षा र समाजको हेय दृष्टिले गर्दा शिक्षकको आत्मसम्मानमा दिनहुँ ठेस पुगिरहेको छ।
आज शिक्षकहरू आजित भइसकेका छन्। दिनभरिको मानसिक थकान, विद्यार्थीको भविष्यप्रतिको चिन्ता र अन्त्यमा समाजबाट पाइने ‘दोष’— यी सबैले गर्दा अनुभवी र तालिमप्राप्त शिक्षकहरू समेत यो पेशा छोडेर हिँड्न बाध्य छन्। इमान्दारिताको कदर नहुने र जति गर्दा पनि ‘केही नगरेको’ आरोप लाग्ने ठाउँमा कतिन्जेल बस्ने?
विद्यार्थीको मनोविज्ञान परिवर्तन भएको छ भन्दैमा उसलाई जे पनि गर्ने छुट दिन सकिँदैन। के यो परिवर्तनको दोष केवल शिक्षकको हो?
शिक्षा केवल विद्यालय र पुस्तकमा सीमित छैन। यो एउटा त्रिकोण हो— विद्यार्थी, शिक्षक र अभिभावक। जबसम्म अभिभावकले आफ्नो सन्तानको बानी व्यहोराको जिम्मा लिँदैनन् र जबसम्म विद्यार्थीमा गुरुप्रति सम्मान र शिक्षाप्रति भोक जाग्दैन, तबसम्म शिक्षक एक्लैले लडेर यो युद्ध जित्न सक्दैन। शिक्षक अपडेट हुनुपर्छ भन्नेहरूले यो पनि बुझून् कि, शिक्षक मेसिन होइन, उसलाई पनि सम्मान र साथको आवश्यकता पर्छ।
अन्त्यमा, शिक्षकको मन अमिलो हुनु भनेको एउटा पुस्ताको भविष्य धमिलो हुनु हो। शिक्षकलाई गाली गर्नुभन्दा पहिले अभिभावकले ऐनामा आफ्नो अनुहार हेरून्— के उनीहरूले आफ्नो सन्तानलाई सही बाटोमा हिँडाउन पर्याप्त मेहेनत गरेका छन्? यदि यही अवस्था रहिरहने हो भने, भोलि विद्यालयमा भवन त हुनेछन्, तर त्यहाँ न सिकाउने इच्छा भएका शिक्षक हुनेछन्, न अनुशासनको ज्ञान भएका विद्यार्थी।
यो समय शिक्षकलाई दोष दिने होइन, अभिभावक र विद्यार्थी स्वयंले आफ्नो गल्ती महसुस गरेर सुधारिने बेला हो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )