

बेनी, माघ-१७, म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सञ्चालित १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ। शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्टपइन्ट आवासीय माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

प्रतियोगितामा विजेता टोलीलाई नगद ३५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई २० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो।
सेमिफाइनल खेलमा बेनी सामुदायिक माविले आयोजक बेनी बोर्डिङ सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ, न्यु वेष्टपइन्ट एकेडेमीले प्रकाश माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।
खेल संयोजक विशाल खत्रीका अनुसार प्रतियोगितामा अन्तर–आधारभूत तह अन्तर्गत कक्षा १ देखि ८ सम्मका म्याग्दी जिल्लाका १७ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
आधारभूत तहका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले सञ्चालन हुँदै आएको बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता म्याग्दी जिल्लामा निकै लोकप्रिय बन्दै गएको छ। प्रतियोगिताले बालबालिकाको शारीरिक विकाससँगै अनुशासन, सहकार्य र खेल भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )