

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएकोकार्यालयको रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै जिल्ला अदालत म्याग्दीका न्यायाधीशसमेत रहनुभएका मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोगको कार्यतालिकाअनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जिल्लाको मतदाता संख्या, मतदानस्थल र हालसम्म गरिएका तयारीबारे जानकारी गराउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले निर्वाचन सफल पार्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै स्वतन्त्र र निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा मतदानस्थलसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराइने जनाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी जिल्लामा कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्ला सुरक्षा समितिले सुरक्षाको दृष्टिकोणले १५ वटा मतदानस्थललाई अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरेको छ ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )