

बेनी, पुष-१५, म्याग्दीको रघुगंगा गाउँपालिकाले २०औँ गाउँसभाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा योजनामा संशोधन गरेको छ।
सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले १९औँ सभाबाट स्वीकृत योजनामध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बराबरको योजना तथा कार्यक्रम संशोधन गर्दै, गाउँपालिकाको आन्तरिक स्रोतबाट थप ७ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गत आर्थिक वर्षको यथार्थ आय–व्यय विवरण तथा चालु वर्षको नीति, कार्यक्रम र बजेटमाथिको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो। यस्तै, उपाध्यक्ष प्रेमकुमारी पुनले पेस गर्नुभएको बजेट संशोधन प्रस्ताव छलफलपछि पारित भएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो।
१९औँ गाउँसभाले असार ५ गते चालु वर्षका लागि ५१ करोड ७८ लाख ४० हजार रुपैयाँ अनुमानित बजेट स्वीकृत गरेको थियो। पुस १० गतेसम्म संघीय र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतसमेत गरी २८ करोड ३६ लाख ८५ हजार रुपैयाँ राजस्व तथा अनुदान संकलन भई परिचालन भएको अध्यक्ष भण्डारीले बताउनुभयो।
पुस १० गतेसम्म गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड २५ लाख रुपैयाँ मध्ये ९ करोड २४ लाख, र पुँजीगततर्फ १४ करोड ५३ लाख रुपैयाँ मध्ये १ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ।
हालसम्म गाउँपालिकाको कुल वित्तीय प्रगति १२.८० प्रतिशत अर्थात् करीब १२ दशमलब ८० प्रतिशत रहेको छ।
जन–जीवन प्रभावित पार्ने जेनजी आन्दोलन, संघीय सरकारको अस्थिरताका कारण बजेट कार्यान्वयन निर्देशिकामा आएको ढिलाइ, साथै उपभोक्ता समिति गठनमा भएको ढिलाइले बजेट कार्यान्वयन सुस्त भएको अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो। उहाँले अब कार्यतालिका बनाएर योजनाको प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्नेमा जोड दिनुभयो।
गाउँसभाले चालु योजनाको प्रगति मूल्याङ्कनसँगै बाँकी अवधिका लागि बजेट परिमार्जन र विकासका नयाँ प्राथमिकतासमेत पारित गरेको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )